काठमाडौं । नेपाल फुटबल खेलाडी संघले विपन्न खेलाडीको उपचारमा सहयोग पुर्याउने उद्धेश्य ललितपुर थ्री टेस्ला एमआरआइ एन्ड डायगोष्टिक सेन्टर प्रालीसँग सम्झौता गरेको छ ।
खेलाडीको स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्धेश्यले खेलाडी संघले ललितपुर थ्री टेस्लासँग खेलाडीको स्वास्थ्य उपचार सम्बन्धि सम्झौता गरेको हो ।
सम्झौता अनुसार ललितपुर थ्री टेस्ला एमआरआइ एन्ड डायगोष्टिक सेन्टर प्रालीले स्वास्थ्य उपचार सेवामा खेलाडीलाई ५० प्रतिशतको छुट प्रदान गर्नेछ । राष्ट्रिय टिमका खेलाडी, उमेर समूहका राष्ट्रिय टिमका खेलाडी सहित घरेलु लिगमा खेल्ने क्रममा घाईते भएका खेलाडीले यो सुविधा प्राप्त गर्ने संघका अध्यक्ष बिक्रम लामाले बताए ।
उनले विपन्न खेलाडीको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ ललितपुर थ्री टेस्लासँग सम्झौता गरिएको उल्लेख गरे ।
खेलाडी संघको सिफारिसमा स्वास्थ्य संस्थाले विपन्न वर्गका खेलाडीलाई शतप्रतिशत सम्म उपचार सेवा प्रदान गर्ने अध्यक्ष लामाले बताए । यस सम्झौताले खेल्ने क्रममा चोट बोक्ने विपन्न वर्गका खेलाडीलाई धेरै राहत हुने अध्यक्ष लामाले उल्लेख गरे । सम्झौताले खेलाडीले चोट बोक्दा अनिवार्य रुपमा गर्नुपर्ने स्वास्थ्य परिक्षणमा खेलाडीलाई आर्थिक भार कम पर्ने लामाको भनाई छ ।
सम्झौता अनुसार स्वास्थ्य सेवा दिने संस्था थ्री टेस्लाको कार्यक्रममा खेलाडीहरुले सहयोग गर्नेछन् भने कम्पनीले समेत खेलाडीको स्वास्थ्य उपचारमा ५० प्रतिशतदेखि शतप्रतिशतका साथै परिवारका सदस्यलाई समेत २५ प्रतिशत छुटमा सेवा उपलब्ध गराउनेछ ।