काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सी काडाको संयोजकत्वमा शनिबारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ डीसीओको प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।
कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन भएको कार्यक्रम दुई दिन चल्नेछ ।
यस कार्यक्रमको आयोजना पश्चात अब नेपालमै डीसीओको प्रशिक्षण दिन सकिनेछ ।
डीसीओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा भएको यो पहिलो पल्ट हो । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए । प्रशिक्षक प्रशिक्षणका लागि काडाबाट तीन विशेषज्ञ नेपाल आएका छन् ।
प्रशिक्षकमा काडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो रहेका छन् । कार्यक्रममा ६ जनाको सहभागिता रहेको छ । सहभागी हुनेमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ, नबीसमानसिंह प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन बैद्य, असिम सुवेदी र पूजा भण्डारी रहेका छन् ।
त्यसमध्ये श्रेष्ठ कमिटी अन्तर्गतको मेडिकल कमिसनका प्रमुख पनि हुनु हुन्छ ।
कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्त्वमा जोड दिन भएको थियो । यस्तै काडाका सीओओ सु–किमले नेपालमा एन्टी डोपिङ सम्बन्धी प्रशिक्षक तयार हुन लागेकोमा खुसी व्यक्त गरे ।
नयाँ खेलकुद ऐन अनुसार नेपालमा नेपाल एन्टि डोपिङ एजेन्सी नाडा गठन हुने क्रममा छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत यो स्वायत्त निकाय हुनेछ ।