काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले समस्यामा परेका तीन खेलाडीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
खेलाडीका लागि आपतविपतमा सहयोग गर्ने उद्धेश्यले स्थापित कोषले उपचाररत खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ ।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले उपचाररत विभिन्न ३ खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरेका छन् ।
उपचार रकम प्राप्त गर्ने खेलाडीमा टेवल टेनिसकी सेलिशा खड्गी, टेवल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् ।
क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई २ लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपराचाररत छिन् ।
यस्तै शारिरीक अस्वस्थताका कारण ट्रमा सेन्टर बिर अस्पतालमा उपचाररत चन्दन शाहीलाई १ लाखको चेक हस्तान्तरण गरियो ।
यसैगरि स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई १ लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।