काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझावमै हुने टर्च र्यालीमा नेपालबाट बक्सिङका दीपक महर्जन सहभागी हुने भएका छन् ।
सदस्य–सचिव टंकलाल घिसिङले टर्च र्यालीमा एसियाली खेलकुदका कांस्य विजेता दीपक नेपालबाट सहभागी हुने जानकारी गराएका हुन् ।
‘१९ औं एसियाली खेलकुद पनि चीनमा नै हुँदैछ । १६ औं एसियाली खेलकुद पनि चीनमा नै भएको थियो । १६ औं संस्करणमा नेपाललाई एक मात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो । सदस्य–सचिव घिसिङले भने– ‘१६ औं एसियाडको सफलताको कदर गर्दै हाङझाव एसियाडअघि हुने टर्च र्यालीमा दीपकलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरेको छ ।’
टर्च र्यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहनेछ ।
हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ । दीपक हाल हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक मध्येका एक हुन् ।