काठमाडौं । नेपाल फुटबल खेलाडी संघले रोकिएको फुटबल कार्यक्रम सुचारु गर्न एन्फाको ध्यानाकर्षण गराएको छ । खेलाडी संघ अध्यक्ष बिक्रम लामा सहितका पदाधिकारीले मंगलबार एन्फा अध्यक्ष पंकज नेम्वाङलाई भेट गरेर एन्फा युथ लिग, बी र सी डिभिजन लिग, महिला लिग फुटबल सुचारु गराउन ध्यानाकर्षण पत्र बुझाएको छ ।
‘उमेर समूह सहित विभिन्न फुटबल कार्यक्रम रोकिदा खेलाडीलाई धेरैनै असर गरेको छ । जिम्मेवार निकाय एन्फाले यसमा ध्यान दिओस् भनेर ध्यानाकर्षण पत्र बुझाएका छौं ।’ संघका अध्यक्ष लामाले भने, ‘खेलाडीको विषय सम्बन्धित संस्था संवेदनशिल हुनुपर्छ भनेर एन्फा नेतृत्वलाई भनेका छन् ।’
खेलाडी संघले अन्यौल अवस्थामा रहेको युथ लिगको विषयमा छिटो निर्णय लिन एन्फालाई आग्रह गरेको छ । ए डिभिजनका चार क्लबले बहिष्कार गरेपछि एन्फा लिग अन्यौलको अवस्थामा छ ।
यस्तै संघले पटक पटक मिति तोकेर हुन नसकेको बी र सी डिभिजन लिगको तत्काल अघि बढाउन आग्रह गरेको छ । साथै, महिला लिगको बारेमा समेत चाँडै निर्णय लिन एन्फाको ध्यानाकर्षण गराएको छ ।
एन्फाले गत वर्ष बी र सी डिभिजन लिग सञ्चालन गर्न सकेन । सोही कारण लिगको प्रतिक्षामा बसेका सयौं खेलाडीले गत वर्ष बी र सी डिभिजनको प्रतियोगिता खेल्न पाएनन् । साथै महिला लिग समेत एन्फाले आयोजना गर्न नसक्दा महिला समेत बिजोग अवस्थामा छ । खेलाडीले फुटबलनै खेल्न नपाउने अवस्था आएपछि खेलाडी संघले पहल कदमी लिदै एन्फा अध्यक्षको ध्यानाकर्षण गराएको हो ।