काठमाडौं । एथलेटिक्स परिवार नेपालको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । परिवारले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा महासचिव मञ्जु श्रेष्ठले संस्थाको वार्षिक कार्यक्रम र कोषाध्यक्ष सुष्मा पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । अध्यक्ष राजन खत्रीले संस्थाको आगामी वर्षको कार्यक्रमबारे जानकारी गराएका थिए ।
संस्थाले चालू आर्थिक वर्षमा अन्तरनगरापलिका दौड सहित अन्तराष्ट्रिय स्तरको म्याराथन कार्यक्रम आयोजना गर्ने योजना सार्वजनीक गरेको छ ।
नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष रघु वन्तले एथलेटिक्सको विकासमा परिवारले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा खेल र खेलाडीलाई सहयोग पुर्याउने परिवारको कामलाई निरन्तरता दिन शुभकामना गरे ।
कीर्तिमानी धावक जीबहादुर केसीले एथलेटिक्सलाई संस्थागत हिसाबले चलाउने सवालमा परिवारबाट नेपाल एथलेटिक्स संघले समेत सिक्नुपर्ने बताएका थिए ।
परिवारका अध्यक्ष राजन खत्रीले बिशुद्ध एथलेटिक्सको विकासका लागि संस्थाले काम गरिरहेको उल्लेख गरे । ‘कोही ब्यक्ति र संस्था विरुद्ध खोलिएको संस्था हैन । बिशुद्ध एथलेटिक्सको विकास गर्ने उद्धेश्य संस्थाको रहेको छ । सबैले यही रुपमा बुझ्न र लाग्न अनुरोध गर्न चाहन्छु ।’ उनले भने ।
साधारण सभामा एथलेटिक्स संघका पूर्व महासचिव तथा पूर्व मुख्य प्रशिक्षक शुशिल नरसिंह राणा, पूर्व धावक मोहन नेपाल, पोखरा म्याराथनका अध्यक्ष हरी पराजुली, एनआरएनए स्पोर्ट्स एकेडेमीका कोषाध्यक्ष तथा पूर्व फुटबल खेलाडी राजु सिंह लगायतको उपस्थिती रहेको थियो ।