काठमाडौं । एसियाडको तयारीका लागि जर्मनका जुडो प्रशिक्षक मोहम्मद मन्सुरी नेपाल आएका छन् । आसन्न एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडोको तयारीका लागि मन्सुर नेपाल आएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार जर्मन प्रशिक्षक मोहम्मद मन्सुरीसँग भेट गरे ।
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन् ।
भेटका अवसरमा सदस्य–सचिव घिसिङले मन्सुरीसंग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
इरानका पूर्व मुख्य प्रशिक्षक सातौं डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासंघ आईजेएफले पठाएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
‘तत्कालका लागि प्रशिक्षकलाई १९ औं एसियाली खेलकुदको तयारीमा केन्द्रीत गराउने छौं । थप कुरा एसियाली खेलकुद पछि हुनेछ ।’ अध्यक्ष वज्राचार्यले भने ।
हाङझाव एसियाडका लागि जुडोबाट समान ४–४ पुरुष-महिला गरी ८ खेलाडी प्रशिक्षणमा छन् ।
उनीहरुले नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल केन्द्र एमएमएसीमा दिनको दुई चरणमा प्रशिक्षण गरिरहेका छन् ।