काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग आयोजनाको विकल्प खोजिनुपर्ने बताएका छन् ।
पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अनिश्चित बनिरहेको समय राखेप सदस्य सचिव घिसिङले यसको विकल्प खोजिनुपर्ने बताएका हुन् ।
‘प्रतियोगितालाई लिएर डेडलक गर्न पाईदैन । समयमा प्रतियोगिता नहुने हो भने पाकिस्तानको विकल्प खोजिनुपर्छ ।’ शनिबार भक्तपुरमा आयोजित माउन्टेन स्पेर्ट्स कन्क्लेभमा उनले भने ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालले सन् २०१९ मा काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरेको थियो । नेपालपछि प्रतियोगिता आयोजनाको झण्डा पाकिस्तानले लिएर गएको थियो ।
प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता सन् २०२१ मा पाकिस्तानले आयोजना गर्नुपर्ने थियो । तर कोभिडको विश्वब्यापी प्रभाव तथा पाकिस्तान ओलम्पिक कमिटी र पाकिस्तान सरकारबीचको द्धन्द्धका लागि प्रतियोगिता प्रभावित बनेको छ । १४ औं साग गेम्स आयोजनाको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।
‘नेपाल ओलम्पिक कमिटीले सागको बैठक नेपालमा राखेर प्रतियोगिताको विकल्पबारे छलफल गर्नुपर्छ ।’ सदस्य सचिव घिसिङले भने ।
सरकारले अर्को वर्ष पहिलो अन्तराष्ट्रिय माउन्टेन स्पोर्ट्स गेम्स आयोजनाको तयारी गरेको छ । सदस्य सचिव घिसिङले नेपाल ओलम्पिक कमिटीको समन्वयमा सरकारले अर्को वर्ष नेपालमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।