पूर्णसिंह बम ।
कालिकोट । कर्णाली प्रदेश कालिकोट जिल्लामा पहिलो पटक कबड्डी प्रतियोगिता आयोजना भएको छ।
कबड्डी संघ कालिकोटको आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा भएको कबड्डी प्रतियोगितामा पुरुषतर्फ पलाँता गाउँपालिका र महिलातर्फ खाँडाचक्र नगरपालिका बिजयी भएका छन्।
पहिलो पटक आयोजना भएको कबड्डी प्रतियोगितामा पुरुष तर्फ ५ टिम र महिलातर्फ ३ टिमको सहभागिता भएको थियो।
जिल्लामा ९ वटा स्थानीय तह भएपनी पहिलोपटक आयोजना भएको खेलमा थोरै मात्र स्थानीय तहको सहभागिता हुनु, तयारी कम र पहिलोपटक भएको कबड्डी प्रतियोगितामा केही स्थानीय तहको ध्यानाकर्षण न्यून भएकोले थोरै मात्र टिम सहभागी भएको आयोजक कमिटीका संयोजक जितेन्द्रप्रताप मल्लले जानकारी गराएका छन्।
यो प्रतियोगिताको महिला तथा पुरुषको प्रथम पुरस्कार राशी समान ७० हजार र द्वितीय पुरस्कार राशी समान ४० हजार सहित कप र मेडल रहेको कबड्डीका राष्ट्रिय खेलाडी जगदीश बिष्टले जानकारी दिएका छन्।
असार १४ गतेबाट संचालन भएको सो खेलको उद्घाटन जिल्ला समन्वय समिती कालिकोटका प्रमुख धनजित शाहीले गरेका थिए।