धनगढी । एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई भारतको हल्द्धानीमा रहेको साई हस्पिटलले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा साई हस्पिटल हल्द्धानीले साथ दिएको हो । साई हस्पिटल हल्द्धानी भारतका प्रबन्ध निर्देशक क्याप्टेन डाक्टर मोहन सती र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
साई हस्पिटल हल्द्धानी भारतले बिशेषज्ञ चिकित्सकीइ सेवा प्रदान गर्दै आएको छ । धनगढीमा उपलब्ध नभएका विशेषज्ञ स्वास्थ्य सेवाहरु अस्पतालले दिदैं आएको छ । ब्रेन ह्यामरेज, प्यारालाईसिस, मुटुको समस्या, एनजिओग्राफी एवम एनजिओपाष्ट्री लगायतका आधुनिक स्वास्थ्य सेवाहरु अस्पतालले दिदैं आएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरुको मनोनयन सार्वजनिक गरिएको छ । बर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी, कबड्डीका प्रकाश गिरी, बर्षको उत्कष्ट खेलाडी महिलामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी बर्षा ओली मनोनयनमा परेकी छिन् । बर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । बर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । सुदुरपश्चिम आईकन पुरुष विधामा फेस्निङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदुरपश्चिम आईकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन् । ६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गर्ने जनाएको छ । लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको हो ।
चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । सह प्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड र क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) रहेका छन । अवार्डको बर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, बर्ष खेलाडी महिला विधालाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिक, युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ । अवार्डको ट्रफी सुदुरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ भने भेन्यु पार्टनरको रुपमा ओम प्यालेस पार्टी प्यालेस रहेको छ । कार्यक्रम टिभी टुडे टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।