गोबिन्द भट्टराई, हिम बिक्रम केसी ।
केही वर्ष अघिसम्म लोकप्रिय रहेका खेल, प्रविधि र प्रक्रिया छदै थिएनन् वा सुसुप्त थिए । सिड्नी ओलम्पिकपछि हो विश्वमै पानीमा आधारित खेलले भुमिका र लोकप्रियता बढाउँदै लगेको । कुनै बेला बक्सिङ, कुस्ती लगायतका खेल विश्वमै प्रभुत्व राख्थे । वर्तमान अवस्थामा टेबल टेनिससँगै ती खेल झण्डै झण्डै अस्तित्वको लडाँईमा छन् भन्दा फरक नपर्ला । समाज, सभ्यता र राष्ट्रकै पनि त्यही अवस्था हुने रहेछ । मेसोपोटामिया र सिन्धको सभ्यता र विकास के थियो हिजो, आज के छ ।
आज संसारमै लोकप्रिय मानिएको फुटबल, क्रिकेट, मोटरस्पोर्ट्स, टेनिस, रग्बी र बास्केटबल जस्ता खेलले यो हैसियत र लोकप्रियताको लागि कम्ती मेहनत गर्नु परेन होला । हो, अब यिनै खेलले पनि निकै ठुलो चुनौतीको सामाना गर्नुपर्नेछ निकट भविष्यमा । इ–स्पोर्ट्स, अनलाइन स्पोर्ट्स, सिम स्पोर्ट्स जस्ता विभिन्न नामले बुझिने खेलमा कति युवाको आकर्षण हेला भनेर बुझ्न टाढा जानुपर्दैन । हाम्रै टोल टोल र घर घरमा खेलिएका र झुम्मिएका युवादेखि प्रौढसम्म हेरे पुग्छ ।
यही अवस्थाको आँकलन गरेर होला, विश्वमा धेरै खेल महासंघ समेत इ–स्पोर्ट्समा आउँदैछन् । जसमा अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसनले मोटर स्पोर्ट्स, आर्चरी, बेसबल र साइक्लिङ जस्ता खेलमा मात्र नभएर तेक्वान्दो जस्तो फिजिकल र फुल कन्ट्याक्ट मानिएको खेलमा समेत इ–स्पोर्ट्सको लोकप्रियता बढेर होला तिनले आफ्नो तयारी सुरु गरिसके ।
यस्तो लाग्छ अबको केही समयभित्र विश्वकै ठुलो र लोकप्रिय ब्यापार र खेलकुदनै इ–स्पोर्ट्स हुन बेर छैन । के यि सम्पुर्ण अवस्थाबाट आइओसी बेखबर थियो र ? अवश्य छैन । र सुरुदेखिनै त्यसतर्फको यात्रा उसले सुरु गरिसकेको रहेछ भन्ने प्रमाण हो । यही हप्तादेखि सिंगापुरमा सुरु हुने ओलम्पिक इ स्पोर्ट्स सिरिजलाई हेर्दा आइओसीले समेत इ–स्पोर्ट्समा आफ्नो उपयोगिता देख्न थालेको भन्दा यसमा संलग्नलाई कम्ती खुसी लाग्दो हो ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटीको मातहतमा अन्तराष्ट्रिय इ–स्पोर्ट्स फेडेरेसन तथा सिंगापुरमा ओलम्पिक कमिटीको आयोजना हुने ओलम्पिक इ–स्पोर्ट्स सिरिज यही जुन २० गतेदेखि २६ जुनसम्ममा आयोजना हुदैछ । गत फेब्रुअरी २१ मा लुजानस्थित आइओसी हेडक्वार्टरमा सार्वजीक गरिएको इ–स्पोर्ट्स सिरिजलाई मार्च १ मा आइओसीले सार्वजनीक गरेको थियो । सुरुवातमै ९ वटा अन्तराष्ट्रिय महासंघले त्यसमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । र तीनै ९ वटा क्षेत्रमा इ–स्पोर्ट्सका खेल हुदैछन्, पहिलो पटक आइओसी, इन्टरनेश्नल फेडेरेसनको झण्डामुनी ।
लगभग २५ हजार खेलाडी तथा अफिसियल र प्राविधिक सहभागी हुने अपेक्षा गरिएको सो सिरिजमा नेपालबाट मोटर स्पोर्ट्समा मात्र सहभागीता जनाउने जानकारी छ । सिम रेसिङ मानिने मोटर रेसिङमा नासा नेपालको तर्फबाट जय मास्केले प्रतिस्पर्धीको रुपमा सिंगापुर जादैछन् । उनी सम्भवत आइओसीको झण्डामुनि इ–स्पोर्ट्समा भाग लिने पहिलो नेपाली हुनेछन् । जहाँ मोटर स्पोर्ट्समा मात्रै ७० भन्दा धेरै राष्ट्रको प्रतिनिधित्व हुनेछ । जसमा अफिसियलमा भने दिप्रस शाक्यको सहभागिता हुनेछ । जो नेपालमा पहिलो पटक भएको छनोटमा दोस्रो भएका थिए ।
यसै हप्ता सिंगापुरमा मोटर स्पोर्टस, साइक्लिङ, टेनिस, आर्चरी, बेसबल, चेस, डान्स र तेक्वान्दोका हजारौं खेलाडीले आफुलाई अब्बल सावित गर्नेछन् । त्यतिमात्रै हैन, बदलिएको परिस्थिती र युवाको आकर्षणलाई बुझि आफुलाई रुपान्तरण गर्ने मौका समेत अन्तराष्ट्रिय महासंघ र राष्ट्रिय संघले पाउनेछन् ।
छनोटदेखिको फाइनल राउण्ड कसरी गरिनेछ भन्ने आगामी दिनमा लेखौला । यस पटक भने विश्वमै इ–स्पोर्ट्सको प्रभावबारेमात्र चर्चा गरिएको हो । विश्वमा पछिल्लो समय तिव्र गतिमा विकास भैरहेको इ–स्पोर्टस बिलियन डलर भ्यालुको खेल उद्योग हो । प्रारम्भिक प्रक्षपणले भन्छ, यसको आकार ठुलो मात्रामा बढ्नेछ । सहज पहुँच र अन्तराष्ट्रिय ‘एक्सपोजर’ले युवाहरु यसतर्फ अझ आकर्षित छन् । औसत खेलाडीले व्यवसायीक रुपमा राम्रो कमाई समेत गरिरहेका छन् ।
नेपालमा समेत इ–स्पोर्ट्स विधाको पब्जि खेल्नेको संख्या बढ्दै दुई मिलियन भन्दामाथि छ भने अन्य स्पोर्टस् समेत गणना गर्दा यसको संख्या १० मिलियन सजिलै कट्ने देखिन्छ । केही महिनाअघि मात्र नेपालको टिमले पब्जिको वल्र्ड च्याम्पियनसिपमा दोस्रो भएर करोडौं पुरस्कार जितेर आएपछि यसको लोकप्रियता र चासो चौतर्फी रुपमा बढेको छ ।
सरकार र खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा इ–स्पोर्ट्स शब्द पनि नभेटिरहेको अवस्थामा समाज र अन्तराष्ट्रिय जगतमा नेपाली इ–स्पोर्टसको गतिविधि, सफलता र सम्भावना चाखलाग्दो छ । यसलाई संस्थागत गर्ने र व्यवसायी बनाउने जिम्मेवारी अब सरकार र यसका जिम्मेवार निकायसमक्ष आइपुगेको छ । यसको संस्थागत विकास, कानुनी जटिलता र व्यवसायिक विकासमा समेत राज्यले महत्वपुर्ण कदम चाल्नुपर्ने समय भैसकेको छ ।
किन इ–स्पोर्ट्स फेडेरेसन ?
- सबै किसिमका इ–स्पोर्ट्सलाई समन्वय गर्ने
- इ–स्पोर्ट्सका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता गर्न
- इ–स्पोर्ट्सका नियम तयार गर्न
- सरकारी पेशागत तथा व्यवसायीक क्षेत्रसँग सहकार्य गर्न
- इ–स्पोर्ट्सको खेलाडी, प्राविधिक र अफिसियल तयार गर्न
- जुवा सट्टेबाजी तथा गैरकानुनी कार्यबाट युवालाई जोगाउन
- लगानी, रोजगारी र प्रतिफल अध्ययन, अनुसन्धान गर्न
- नेपाली खेलाडीलाई विश्वव्यापी पहुँच वृद्धि गर्न
- ठुलो आर्थिक भार र लगानी न्युनिकरण गर्न
- युवा समूहलाई खेलकुदप्रतिको मोह जगाई राख्न
- स्थानीय स्तर र स्वतस्फुत भैरहेको इ स्पोर्ट्सलाई राष्ट्रिय मान्यता दिलाउन
- पदक, पहिचान र राष्ट्रिय गौरव वृद्धि गर्न
- सरकारी साथ, सहयोग र समर्थन पाउन
तसर्थ के अब पनि इ–स्पोर्ट्सलाई फेडेरेसन बनाएर जान किन हच्किने ?
किन लोकप्रिय बन्दैछ इ–स्पोर्ट्स ?
- थोरै लागतमा खेल्न सकिने
- धेरै समय नचाहिने
- रोमाञ्जक, सृजनशिलता र सनसनीपूर्ण
- व्यवसायीक लगानी र फाइदाको अवसर
- सानो स्थानमा खेल्न सकिने
- कम्प्युटर, मोबाइल र ल्यापटपमा खेल्न सकिने
- पदक प्रतिष्ठा र पुरस्कार निकटमै
कहाँबाट सुरु गर्ने ?
- इभेन्ट र क्लबको डाटा संलकन
- राखेपमा फेडरेसन दर्ता
- एक स्थानमा खेल सेन्टर तयार
- नियमावली र इभेन्ट सार्वजनीक
- खेलाडी र अफिसियल तालिम
- आवश्यक भौतिक सामाग्री खरिद
- अन्तराष्ट्रिय आबद्धताको पहल
खैर जे होस्, भिडियो गेममा छोराछोरी लागेको देखेर बुवाआमा पिरोलिने दिन जादैछ अब । त्यो हो भने यो सिंगो समाज, परिवार र राष्ट्रकै लागि पनि एउटा चुनौती र अवसर दुवै हो । किनकी खेल भन्ने वित्तिकै शारिरीक र भौतिक प्रतिस्पर्धा, पूर्वाधार र प्रयत्नलाई बुझेका हामी अब ३६० डिग्रीको परिवर्तनर्फ जादैछौं । त्यसो भन्दैमा हाल भैरहेको लगानी, लगाव र लोकप्रियतालाई अवमुल्यन गर्नु हुदैन । अबको इ–स्पोर्ट्सले खेललाई अझ लोकप्रिय र विश्वव्यापी बनाउन मदत पुग्नेछ ।
- (भट्टराई साहसीक तथा पर्वतीय खेलकुद महासंघका अध्यक्ष हुन् भने केसी खेलकुद पत्रकारितामा कलम चलाउँछन् ।)