काठमाडौं । भ्याली पब्लिक प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दुई उपाधिनजिक पुगेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गर्ल्स दुवैमा फाइनलमा पुग्यो ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसी) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले सेन्ट जोसेफलाई ५८–४७ ले पराजित गर्दै ग्रिनल्यान्डसंग उपाधि भिडन्त पक्का गर्यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङले २१ अंक योगदान गरे । अर्को सेमिफाइनलमा प्रवीण गुरुङको २० अंक सहयोगमा ग्रिनल्यान्डले बीएमसीएलाई ४९–३० ले हरायो ।
गर्ल्समा भ्याली पब्लिकले हिमालयन किङडमलाई ३५–२० ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले १२ स्कोर गरिन् । उपाधिका लागि भ्याली पब्लिकले पृथ्वी विरुद्ध खेल्ने छ । पृथ्वीले एचएचसीएलाई २९–२० ले पन्छायो । पृथ्वीकी दावा लामा गुरुङले १० अंक जोडिन् ।
जुनियर ब्वाइजमा गोल्डेनपिक र हिमालयन किङडमले उपाधि भिडन्त पक्का गरे । गोल्डेनपिकले एन्जल्स हार्टमाथि २७–२१ को जित दर्ता गर्यो । गोल्डेनपिकका अमन गुरुङले १७ अंक बटुले । स्किब्स विरुद्धको अर्को सेमिफाइनलमा हिमालयन किङडम २८–२५ ले विजयी भयो । विजेताका लोप्साङ तामाङले १० अंक जोडे । फाइनल शनिबार हुनेछ ।