काठमाडौं । नेपालले माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा सहभागिता जनाउने जनाएको छ ।
च्याम्पियनसिपमा माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको छ ।
च्याम्पियनसिप जुन १४ देखि २२ सम्म हुनेछ । लिगको आधारमा आयोजना हुने च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
नेपाली टोलीका कप्तान सदिश प्रधानले तयारी राम्रो भएको कारण उपाधि जित्ने सम्भावना बलियो रहेको बताए ।
नेपाली टोलीमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश रखाल मगर, मबिन्द्र भण्डारी, अजय कुशवाह,दिभेशवर साह, आयुष सिंह, निश्चल महर्जन र मनिस केसी रहेका छन् ।
नेपाली टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ रहदा सुशील गुरुङ टिम म्यानेजर रहेका छन् ।
कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष भिम सिंह गुरुङले च्याम्पियनसिपमा राम्रो खेल्ने खेलाडीलाई शुभकामना दिए ।
बास्केटबल टोलीको मुख्य प्रायोजक लिनिङ नेपालका कन्ट्री हेड राजन महर्जनले इतिहास बनाउने मौका रहेको र उपाधि जितेर फर्किन आग्रह गरे ।
नेपाली टोली सोमबार माल्दिभ्स प्रस्थान गर्ने छन् ।