इलाम । इलामको माई नगरपालिकामा आगामि जेठ २६ गतेबाट यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ ।
माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हाे ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा पुरुष खेलाडी सहभागि हुने छन् ।
नेपाल रग्बी संघको आयोजना तथा प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघको संयोजन रहनेछ । प्रतियोगितामा दुई सय भन्दा वढी खेलाडीहरुको सहभागिता रहने छ ।
प्रतियागिताबाट नेपाली उमेर समूहको राष्ट्रिय टोली समेत छनौट गरिने नेपाल रग्बी संघ इलामका अध्यक्ष गंगा फियाक बिजुले जानकारी दिए ।
केन्द्रिय स्तरबाट इलाममा आयोजना भएको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो । संघियताको पूर्ण अभ्यास स्वरुप जिल्ला जिल्लामा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना अघि वढाउनु सकारात्मक रहेकाे माई नगर रग्बी संघका अध्यक्ष रञ्जीत काफ्लेले जानकारी दिए ।
इलाममा यस्ता राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाले खेलकुद पर्यटनलाई टेवा पुग्ने जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईले बताए ।
प्रतियोगिता सञ्चालनका लागि माई नगरपालिकाले खान र आवासको व्यवस्थापन गरिदिने प्रतियोगिता तयारी समितिका सदस्य राजु लोक्तामले जानकारी दिए ।
प्रतियोगिता सेभेन ए साईड संरचना अनुसार सञ्चालन हुने छ । नेपाल रग्बी संघले भर्रखरै विश्व रग्बी संघको सदस्यता प्राप्त गरेको कारण प्रतियोगिता आयोजना महत्वपूर्ण सावित हुने आयोजकले अपेक्षा लिएको छ ।
नेपालले यस अघि २०१४ मा एशिया रग्बीको एसोशियस्ट सदस्यता पाएको थियो । त्यस पछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो । नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालन संगै घरेलु प्रतियोगिता पनि सफलता पूर्वक सम्पन्न गरेको छ ।
गत भदैमा एशिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारीस पछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।