काठमाडौं । ए डिभिजन क्लब चर्च ब्वाईज युनाईटेडले अपि पावरलाई मुख्य प्रायोजकको रुपमा भित्राएको छ । घरेलु लिगमा उच्च प्रर्दशन गरिरहेको चर्च ब्वाईजले अपि पावर कम्पनी लिमिटेडलाई मुख्य प्रायोजकको रुपमा भित्राएको हो ।
चर्च ब्वाईज युनाईटेडका अध्यक्ष टंकलाल राई र अपि पावरका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब क्लबको नाम ‘अपि पावर चर्च ब्वाईज’ रहनेछ । क्लबको पूर्वाधार विकास तथा खेलाडी स्तरोन्नतीका लागि अपि पावरले क्लबलाई सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।
नेपालको उर्जा क्षेत्रको अग्रणी संस्था अपि पावरले नेपाली खेलकुदको शीर्ष डिभिजनको क्लबसँग प्रायोजन सम्झौता गरेको हो । ए डिभिजनमा उक्लिएको पहिलो वर्षमै राष्ट्रिय टिमका स्टार खेलाडी अनुबन्ध गरेर फुटबलमा राम्रो लगानी गरेको चर्चले लिगको मध्यान्तरमा मुख्य प्रायोजकसँग सम्झौता गरेको छ ।
अपि पावरले सामाजिक रुपान्तरण, युवा शसक्तिकरण तथा खेलकुदको दिगो विकासमा सहयोग गर्ने उद्धेश्य अनुरुप चर्च ब्वाईजसँग जोडिएको बिज्ञप्तिमार्फत जनाएको छ ।