काठमाडौं । टेनिस खेलाडी अभिषेक बाँस्तोला वर्ल्ड टेनिस फेडेरेसन (आईटिएफ) वरीयतामा पर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
अमेरिकामा बसेर व्यवसायिक टेनिस खेल्दै आएका अभिषेकले बिहीबार पत्रकार सम्मेलन गर्दै आईटिएफ वरीयतामा आफु अटाएको जनाएका छन् ।
अभिषेक वरीयताको १ हजार ९ सय ३० औं स्थानमा रहेका छन् । अभिषेक बाहेक हालसम्म नेपालका कुनैपनि खेलाडी वरीयतामा अटाएका छैनन् ।
अभिषेकले आफ्नो लक्ष्य वरीयताको शीर्ष १ हजार भित्र पर्ने र युएस ओपन लगायतको ठुला प्रतियोगिता खेल्ने रहेको बताए ।
आठ वर्षकै उमेरबाट टेनिस खेल्दै आएका उनी १३ वर्षकै उमेरबाट अन्तराष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् ।
१५ वर्षको उमेरमा अमेरिका गएका अभिषेकले त्यहाँ युनिभर्सिटी स्तरीय प्रतियोगिता खेलेका थिए ।
अभिषेकले हालै सिटिजन बैंक राष्ट्रिय खुला टेनिस प्रतियोगिताको उपाधि जितेका थिए ।
अभिषेकले हालसम्म विभिन्न १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगिता खेलिसकेका छन् ।