काठमाडौं । लुम्बिनीका सुदीप थारुले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा शनिबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
छात्रको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन् । लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्यो । सुदिप सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले निर्धारित दूरी ४४.० सेकेन्डमा पूरा गर्दै तत्कालिन मध्यपश्चिमाञ्चल टोलीको नाममा रहेको ४४.५३ सेकेन्डको कीर्तिमान भंग गर्यो ।
लुम्बिनी प्रदेशका तुलसीराम थारुले छात्र तथा कर्णाली प्रदेशकी सरिता खड्काले छात्रा ४ सय मिटर दौडमा स्वर्ण जिते।
तुलसीले निर्धारित दूरी ५१.३ सेकेन्डमा पूरा गरे । सरिताले निर्धारित दूरी तय गर्न १ मिनेट ०३.२ सेकेन्ड समय लगाइन् । सरिता ८ सय मिटर दौडमा पनि स्वर्ण जित्न सफल भइन् । सरिताले दूरी २ मिनेट ३०.७ सेकेन्डमा तय गरिन् । छात्र ८ समय मिटर दौड २ मिनेट ०१.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विक पहिलो भए ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिता अन्तर्गत ४ गुणा १०० मिटर रिलेको छात्रामा लुम्बिनीले स्वर्ण चुम्यो ।
ज्याभ्लिन थ्रोमा रवि चौधरी (५१.८४ मिटर) ले शीर्ष स्थान कब्जा गरे । छात्राको लङजम्पमा रेसु थारु (४.९१ मिटर) तथा ज्याभ्लिन थ्रोमा दिब्यकला थारु पहिलो भए । लङजम्प र ज्याभ्लिन थ्रोका विजेता चारै लुम्बिनीका हुन् ।
कराते :एकल कातामा सूर्य र सन्जु पहिलो
कोशीका सूर्यचन्द्र राईले छात्र एकल कातामा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशका प्रिन्स गुरुङ दोश्रो तथा बागमतीका अन्जन यस्माली मगर र कर्णालीका लक्ष्मण शाही तेश्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतीकी सन्जु देशारले स्वर्ण, मधेश प्रदेशकी सुजिता परियारले रजत तथा मधेशकी प्रोसिया चौधरी र कर्णालीकी प्रियंका शाहीले कांस्य जिते ।
छात्र ५२ केजीमा कोशीका अंकित राईले स्वर्ण जिते । अंकितले फाइनलमा बागमतीका करण चौधरीलाई पराजित गरे । कर्णालीका निशान रस्कोटी तथा सुदूरपश्चिम प्रदेशका लक्ष्मण बिसी संयुक्त रुपमा तेश्रो भए । छात्रा ४० केजीमा बागमतीकी प्रमिला पाख्रिनले फाइनलमा बागमतीकै अनु मोक्तानलाई हराउदै स्वर्ण जितिन् । सुदूरपश्चिमकी पूजा सुनार र लुम्बिनीकी विनिता बुढा मगर तेश्रो स्थानमा रहे ।
छात्रा ४५ केजीमा गण्डकीकी अपेक्षा थापाले पहिलो स्थान हात पारिन् । अपेक्षाले फाइनलमा बागमतीकी सन्जु देशारलाई पाखा लगाएको करातेका पूर्व प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् । मधेशकी प्रोसिया चौधरी तथा बागमतीकी ममता साह शंकरले कांस्य हात पारे ।
उसु : एलिस पहिलो
उसुको छात्रतर्फ नान छ्वानमा कोशीका एलिश मरिक पहिलो, बागमतीका सुमन तामाङ दोश्रो तथा गण्डकीका लेनिन राना तेश्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी ममता सुनुवारले स्वर्ण, सुदूरपश्चिमकी दिब्य बोगटीले रजत र सुदूरपश्चिमकै कटिना बोहराले कांस्य हात पारे ।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको छात्रा छाङ छ्वानमा बागमतीकी मारिया राई पहिलो, सुदूरपश्चिमकी दिपिका चौधरी दोश्रो तथा बागमतीकी अनुषा लुङेल मगर तेश्रो बने ।
छात्र थाइची छ्वानमा सुदूरपश्चिमका शिरीष श्रेष्ठ प्रथम, बागमतीका विवेक मण्डल द्वितीय र सुदूरपश्चिमका प्रमित चौधरी तृतीय भए । उक्त स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पुष्पा कुँवर पहिलो, बागमतीकी लक्ष्मी तामाङ दोश्रो तथा कोशीकी इक्सा लङवा तेश्रो बने ।