पोखरा । सुपर मादी हाइड्रो पावर लिमिटेडले सातौं पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ ।
कास्कीको मादी गाउँपालिकामा रहेको सुपर मादीले लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
सहयोग सम्बन्धमा सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र मञ्चका अध्यक्ष दीननाथ बरालबिच शुक्रबार मौखिक सहमती भएको उनले खुलाए ।
वर्षायाममा ४४ मेगावाट क्षमताको सुपरमादीले अहिले १५ मेगावाट उत्पादन गरिरहेको प्रशासकिय अधिकृत सम्झना थापा क्षेत्रीले जनाइन् । आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ ।
उत्पादित विद्युत् विद्युतगृहदेखि ९ किलोमिटर दूरीमा रहेको माथिल्लो मादी विद्युतगृह नजिकैको सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले बनाएको हो ।
मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भौगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ ।
यही वैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।
वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।
लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।