काठमाडौं । चेसको नेपाल च्याम्पियन रुपेश जैसवाल र सुजना लोहनीले मासिक भत्ता पाउने भएका छन् ।
नेपाल बुद्धिचाल महासंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै फिडेमास्टर रुपेश र महिला फिडेमास्टर सुजनालाई मासिक भत्ता उपलब्ध गराउने जनाएको छ ।
महासंघले एक वर्षसम्म मासिक १० हजारको दरले भत्ता उपलब्ध गराउने जनाएको छ ।
चेस इतिहासमा पहिलो पटक खेलाडीले मासिक भत्ता पाउन लागेको हो ।
रुपेश र सुजनाले हालै नेसनल चेस च्याम्पियनसिपको उपाधि जितेका थिए ।
महासंघले राष्ट्रिय च्याम्पियनलाई मासिक भत्ता उपलब्ध गराउनका लागि मंगलबार नै दाना उत्पादक कम्पनि सागर फिड्ससँग सम्झौता गरेको छ ।
महासंघका अध्यक्ष विदुर प्रसाद गौतम र सागर फिड्सका प्रबन्ध निर्देशक ज्ञानेन्द्र पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै सागर फिड्सले महासंघलाई वार्षिक २ लाख ४० हजार उपलब्ध गराउने छन् । जसबाट महासंघले राष्ट्रिय च्याम्पियनलाई भत्ता उपलब्ध गराउने छन् ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गौतमले खेलाडीलाई प्रोत्साहन स्वरूपमा यस कार्यको सुरुआत गरेको र यसलाई साकार पार्न सहयोग गरेकोमा सागर फिड्सलाई धन्यवाद दिए ।
सागर फिड्सका पराजुलीले खेलाडीलाई प्रोत्साहन गर्न र खेलाडीलाई व्यवसायिक बनाउन सहयोग गरेको बताए ।
यस्तै पुरुषतर्फ नेपाल च्याम्पियन रुपेशले महासंघको यो कार्य एकदमै राम्रो रहेको बताए ।
सुजनाले यस कार्यले खेलाडीलाई व्यवसायिक बनाउन मद्दत गरेको र खेलाडीलाई प्रोत्साहन मिलेको बताए ।