काठमाडौं । रोमानियामा आयोजना हुने १५ औं विश्व ई स्पोर्ट्स च्याम्पियनसिपका लागि नेपालको छनोट प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले एक विज्ञप्ति निकाल्दै विश्व च्याम्पियनसिपका लागि ६ खेलको छनोट प्रतियोगिता आयोजना भएको जनाएको छ ।
पब्जी मोबाइलबाट डीआरएस गेमीङ छनोट भएको छ । पब्जीमा कुल ५५ टोलीको सहभागिता रहेको थियो ।
काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस–गो) तर्फ नो टल्क ओन्ली किल छनोट भएको छ । फाइनलमा टिम एसेन्सनलाई हराएर नो टल्क ओन्ली किल छनोट भएको हो ।
डोटा–२ तर्फ तन्त्रमन्त्र छनोट भएको छ । तन्त्रमन्त्रले फाइनलमा ३ चियर्स ४ रिभेन्जलाई हराएको हो ।
त्यस्तै मोबाइल लेजेण्डमा पिङपोङ, टेकेन ७ तर्फ विजय जोशी र ईफुटबल तर्फ आयुष जोशी छनोट भएका छन् ।
छनोट हुने खेलाडी र टिमले क्षेत्रीय छनोट खेल्ने छन् ।
रोमानियामा आयोजना हुने विश्व च्याम्पियनसिप आगामी अगस्ट २४ देखि ४ सेप्टेम्बरसम्म आयोजना हुनेछ ।