काठमाडौं । मधेश प्रदेशका लक्ष्मण राईले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।
गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लक्ष्मणले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापालाई पराजित गरे ।
सोही स्पर्धामा बागमती प्रदेशका रविन थापाले लुम्बिनी प्रदेशका भरत पुन मगर, नेपाल एपीएफ क्लबका आश तामाङले सुदूरपश्चिम प्रदेशका चिरन्जिवी खड्का तथा कोशी प्रदेशका फुङलाङ काम्वाङले गण्डकी प्रदेशका रुकी गुरुङलाई हराए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष ६३ केजीमा कोशीका बलबहादुर पुनले लुम्बिनीका नेत्रबहादुर थापालाई पाखा लगाए । पुरुष ६१ केजीमा मधेशका शशि शाक्यले कर्णाली प्रदेशका देवेन्द्र थापालाई पन्छाए ।
प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा भारतको नयाँ दिल्लीमा भएको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर इतिहास रचेकी अन्जनी तेलीलाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा सात प्रदेश, प्रहरी र एपीएफबाट १ सय ८ खेलाडी सहभागी छन् । पुरुष÷महिलामा समान ६–६ स्पर्धामा समावेश छन् । हरेक स्पर्धाका विजेताले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले ७.५÷७.५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।