काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्ज गल्फ भोलि मंगलबारबाट सुरु हुने भएको छ ।
प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबारसम्म संचालन हुने जनाएको छ ।
रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरि कुल ३८ खेलाडीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउने छन् ।
नेपालका नम्बर एक शुक्र राई भने भारतमा रहेको कारण अनुपस्थित हुने छन् ।
प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उपविजेताले ६५ हजार पाउने छन् । तेस्रोले ४६ हजार, चौंथो ३८, पाँचौंले ३४, छैटौंले ३०, सातौंले २७, आठौंले २४, नवौंले २२, दशौँले २० हजार प्राप्त गर्ने छन् । त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुने महासचिव दिपक आचार्यले जानकारी दिए ।
यस पटक रोयल नेपाल गल्फ क्लबको कोर्स राम्रो रहेको कारण प्रतियोगितामा उच्च स्कोर हुने अध्यक्ष रविन्द्र मान श्रेष्ठले जानकारी दिए ।