धनगढी । तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको सुदूरपश्चिम ११ स्पोर्ट्स क्लवको खेलाडी टोलीलाई बुटवलको बर्गर हाउसले सम्मान गरेको छ ।
हाउसका सञ्चालक विकास भण्डारी र अनिल नेपालले चित्र प्रताप ठकुरी, जीवन थापा र बिनोद श्रेष्ठको सहकार्यमा सम्मान गरेका हुन् ।
हाउसका सञ्चालकले टिम कप्तान धनराज थापासहतिको फुटबल टोलीलाई फाइनलमा जितको शुभकामना पनि दिए । यसअघि पनि बुटवलमा स्थानीयले क्लवलाई सम्मान गरेको टीम म्यानेजर अनिल कठायतले बताए ।
२२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा यसअघिका दुई खेलमा लगातार जित निकालेको सुदूरपश्चिमले शनिबार मनाङ मर्स्याङ्दी क्लबसँग उपाधिका लागि भिड्ने छ । यसअघि उसले आफ्नो पहिलो खेलमा आयोजक रुपन्देही र थ्री स्टार्सलाई हराएको थियो ।
मोफसलको पुरानो मानिने तिलोत्तमा गोल्डकपको स्थापना २०३१ सालमा तत्कालीन बुटवल नगर पञ्चायतले गरेको थियो। यो प्रतियोगिताको रूपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको छ ।
आयोजक रूपन्देही ११, नेपाल पुलिस, एपिएफ, मनाङ मर्स्याङ्दी, थ्री स्टार, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा र सुदूर पश्चिम ११ गरी आठ टिमले प्रतियोगितामा खेलेका हुन् ।