काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको समापनमा प्रमुख अतिथि हुने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार प्रतियोगिताको फाइनलमा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि रहने र पुरस्कार वितरण गर्ने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईसहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर चैत १७ गते हुने समापन कार्यक्रमको निमन्त्रणा दिएका छन् ।
प्रतियोगिताको उद्घाटन भने राखेप सदस्य सचिव टंकलाल घिसिङले गर्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज बुधबार लाओसको सामना गर्नेछ । नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।