काठमाडौं । एमडीएसी स्पोर्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गर्ने भएको छ ।
'ए' डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शुक्रबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरिने जनाएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई शनिबार साँझ सम्मान गरिने एमडीएसी स्पोर्ट्सले जनाएको छ ।
लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो ।
'ए' डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल अघि क्रिकेट टिमलाई सम्मान गरिने एमडीएसी स्पोर्ट्सले जनाएको छ ।
'उत्कृष्ट खेल कौशल प्रदर्शन गरेर अविश्वसनीय नतिजालाई साकार प्राप्त गर्दै आइसिसी एकदिवसीय विश्वकप छनौट चरणमा नेपाल प्रवेश गरेको अवसरमा भोलि चैत्र ४ गते बेलुका ५:३० मा दशरथ रंगशालामा हुने सशस्त्र प्रहरी र मनाङ मर्स्याङ्दीबीचको खेलमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गरिने भएको छ,' सिईओ अर्जुन घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय क्रिकेट खेलाडीहरु उपस्थित हुने खेलमा टिकटबाट प्राप्त हुने सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिने एमडीएसी स्पोर्ट्सले जनाएको छ ।