काठमाडौं । नवीन मगर र एन्जिला आचार्य प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवीन पुरुष तथा एन्जिला महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् ।
नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ३५ केजीमुनि एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई पराजित गरे ।
४५ केजीमुनि एकिकृतका ठगेन्द्र बुढा मगरले वीरगन्जका सागर दास, ५५ केजीमुनि एकिकृतका ईश्वर रोका मगरले एकिकृतकै राजमद बुढा मगर तथा ५५ केजीमाथि वीरगन्जका उमाकान्तले एकिकृतका मनोज पाण्डेलाई हराउदै स्वर्ण जिते ।
बानियाँटारमा भएको प्रतियोगिताको महिला २५ केजीमुनि मनमैजुकी कृशला लामाले मनमैजुकै रोमी चोधरी, ५० केजीमुनि मनमैजुकी कृष्मा लामाले एकिकृतकी श्रृष्टि शाही तथा ५० केजीमाथि मनमैजुकी सोफिला तामाङले मनमैजुकी कृष्ता तामाङलाई पाखा लगाउदै पहिलो बने ।
विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङ, आयोजक एटेमीका ब्रान्च चिफ प्रदीप थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न ७ स्पर्धामा १ सय ७५ खेलाडी सहभागिता जनाएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि हंगेरीबाट एटेमीका प्राविधिक निर्देशक डा. एटिला गुवासीसहितको ७ सदस्यीय टोली नेपालमा छन् । उक्त टोलीले सेमिनार पनि सञ्चालन गरेको थियो ।