इलाम । १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई रोङ गाउँपालिकाले नगद सहित सम्मान गर्ने भएको छ ।
प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई नगद १५ हजार, रजत पदक विजेतालाई ६ हजार र काँस्य विजेतालाई ३ हजार रुपैया दिने निर्णय भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो सुवासले जानकारी दिए । सहभागी खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले फागुन २५ गते बैठकबाट पुरस्कृत गर्ने निर्णय गरिएको स्याङबोले बताए ।
पुरस्कारले खेल क्षेत्रमा सफलता मिल्ने उनले विश्वास व्यक्त गरे । लागुऔषध कुलत बाट युवा हरुलाई बचाउदै खेल जगतबाट नेपाललाई बिश्वमा चिनाउन सक्ने बिश्वास गाउपालिकाले लिएको स्याङबोले बताए ।
फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा रोङ गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ५ काँस्य सहित रोङ छैटौ स्थान हासिल गरेको थियो । आगामी बर्ष उत्कृष्ट नतिजा ल्याउनको लागि खेलाडीहरुलाई प्रोत्साहन मिल्ने उनले बताए । अध्यक्ष स्याङबोले पदक बिजेता खेलाडीलाई बधाई दिँदै आगामी बर्ष पदक जित्ने कार्यक्रमलाई रोङ गाउँपालिको अघि बढाएको बताए ।
उनले सहभागी सबै विद्यार्थीलाई आगामी बर्ष उत्कृष्ट नतिजा ल्याउनका लागि हौसला प्रदान गरे । उनले पुर्वाधार अभावका बिचमा कुशलता पुर्वक आतिथ्य सत्कार गरेको भन्दै फाकफोकथुम गाउँपालिका परिवारलाई धन्यवाद समेत ज्ञापन गरे ।
स्याङबोले विकट गाउँमा समेत स्तरिय प्रतियोगिता आयोजना गर्न सकिने कुरालाई फाकफोकथुमले प्रमाणित गरेकाले सदरमुकाम बाहिरका पालिकाहरु उत्साहित रहेको बताए ।