काठमाडौं । दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा नेपालले ऐतिहासिक कास्य पदक जितेको छ ।
फाइनल प्रवेशका लागि भएको खेलमा आयोजक इरानसँग ६०-३७ ले पराजित भएपछि नेपालले कास्य पदक हात पारेको हो ।
त्यसअघि नेपालले क्वाटरफाइनलमा इराकलाई ६४-६३ ले हराउँदै नेपाल सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
नेपालले पहिलो पटक जुनियर विश्व कबड्डीमा कास्य पदक जितेको हो ।
नेपालसँगै पाकिस्तानले कास्य पदक जितेको छ ।
प्रतियोगिताको उपाधि भने भारतले जितेको छ । फाइनलमा भारतले इरानलाई हराएर उपाधि जितेको हो ।
प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली इरानमा गएका थिए ।
नेपाली टोलीमा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका छन् ।
प्रशिक्षकमा कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राई र अरविन्दकुमार झा, व्यवस्थापकमा लक्ष्मण बराल तथा निर्णायकमा विरेन्द्रकुमार यादव छन् ।