इलाम । उदयपुरको कटारीमा प्रथम मेयरकप टच रग्बी प्रतियोगिता सुरु भएको छ ।
कोशी प्रदेशमा पहिलो पटक स्थानीस्तरमा रग्बी खेल प्रतियोगिता सुरु भएको हो । नगर खेलकुद विकास समिति कटारीको आयोजना र नेपाल रग्बी संघ उदयपुरको सहयोगमा कटारी–४ स्थित टाईगर फिल्ड खेल मैदानमा प्रतियोगिता सुरु गरिएको हो ।
प्रदेशमै यो पहिलो रग्बी प्रतियोगिता हो । प्रतियोगितामा कटारी नगरपालिका भित्रका पुरुष र महिलाका समान ५÷५ टिमले प्रतिष्पर्धा गरिरहेका छन् । विजेता टिमले नगदका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ । प्रतियोगिताको कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले उदघाटन गरिन् ।
‘रग्बीका लागि प्रदेशमा पहिलो पटक पालिकास्तरमा खेल भएको हो , कहिं कतै अरु क्लबहरुबाट खेल भएपनि स्थानीयस्तरका खेलाडीले रग्बीमा प्रतियोगिता खेलेको यो पहिलो हो ।’ नेपाल रग्बी संघ कोशी प्रदेशका अध्यक्ष बिनोद कट्वाल दिवसले भने ‘रग्बी खेलमा पुरुष भन्दा पनि महिलाहरुले राम्रो आकर्षण देखाएका छन् ।’
अध्यक्ष कटुवालले देश भरमै पालिकास्तरमा रग्बीको खेल हुनुपर्ने बताए । कटारीमा रग्बी प्रति आकर्षण वढ्दै गएकाले प्रतियोगिताको आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक तामाङ बताउँछन् ।
‘कटारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा विद्यार्थीहरुको राम्रो सहभागिता देखियो ।’ अध्यक्ष तामाङले भने ‘त्यसैले यो खेलको गतिविधि पनि बढाउनु पर्ने रहेछ भनेर प्रतियोगिताको आयोजना गरेका हौं ।’