काठमाडौं । ज्ञानोदय र त्रिज्योति ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूए ‘ए’ बाट त्रिज्योति विजेता र ज्ञानोदय उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
मण्डिखटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा त्रिज्योतिले लोयल्टी ‘बी’ लाई ४–० गोलले पराजित गर्यो भने ज्ञानोदयसंग १–१ को बराबरी खेल्यो । ज्ञानोदयले लोयल्टी ‘बी’ लाई २–१ गोलले पन्छायो ।
समूह ‘सी’ बाट लिटिल एन्जल्स विजेता तथा काठमाडौं भ्याली उपविजेता बन्दै क्वाटरफाइनलमा पुगे । लिटिल एन्जल्सले काठमाडौं भ्यालीलाई ११–० तथा रिलायन्सलाई ७–१ गोलले पाखा लगायो । काठमाडौं भ्यालीले रिलायन्सलाई ४–२ गोलले पराजित गर्यो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा आयोजकको २ सहित १२ टिम सहभागी छन् । फाइनल फागुन १९ गते हुनेछ ।