काठमाडौं । भ्याली पब्लिक र ग्रिनल्यान्ड दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४२–२२ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा सुनिल पौडेलले २२ अंक योगदान गरे । प्रवीण तामाङको १९ अंक सहयोगमा ग्रिनल्यान्डले पञ्चायणलाई ५८–२५ ले हरायो ।
सिनियर ब्वाइजमै एन्जल्स हार्ट, सेब र नेपाल मोडल क्वाटरफाइनलमा पुगे । एन्जल्स हार्टले नेसनल युनाइटेडलाई २८–१७, सेबले बागमतीलाई ३८–२८ र नेपाल मोडलले टीआईएलाई २६–१४ ले पाखा लगाए । एन्जल्स हार्टका दिलेन्द्र छन्त्यालले १८, सेबका राजन विकले १५ र नेपाल मोडलका निरञ्जन पाण्डेले ७ स्कोर गरे ।
हात्तीगौडास्थित भद्रकाली स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र भ्याली पब्लिकले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
बीएनएले ग्रिनल्यान्डमाथि २६–१३ को जित दर्ता गर्यो । भ्याली पब्लिकले इबीएलाई २०–१७ ले पन्छायो । भ्याली पब्लिकका विशाल परियारले १४ अंक जोडे ।