पोखरा । दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय खुल्ला आर्चरी यसै साता आयोजना हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला आर्चरी संघको सह-आयोजनामा हुने प्रतियोगिता फागुन ५ र ६ गते हुनेछ ।
पोखरा रंगशालाको आर्चरी खेल मैदानमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बाग्लुङ र कास्की जिल्लाका करिब ९० जना खेलाडीहरुको सहभागिता रहने छ ।
प्रतियोगिता रिकर्ब ओपन पुरुष- महिला र स्टाण्डर्ट पुरुषतर्फको व्यक्तिगतको खुल्लामा प्रतिस्पर्धा हुनेछ । रिकर्ब ओपन ७० मिटर र स्टाण्डर्ट ३० मिटरको दुरीमा खेलाइने छ ।
यस्तै ६० वर्ष भन्दा माथीका खेलाडीहरुबिचमा भेट्रान्सको प्रतिस्पर्धा समेत हुनेछ । भेट्रान्सको खेल ३० मिटरको दुरीमा खेलाइने छ ।
रिकर्ब ओपन पुरुषतर्फको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार पाउने छन् ।
रिकर्ब ओपन महिलातर्फको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउने छन् ।
स्टाण्डर्ट पुरुषतर्फ विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार पाउने छन् ।
भेट्रान्स पुरुषतर्फ पहिलोले ८ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउने छन् ।