काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले रेफ्रीलाई रग्बी बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य अन्जन धमलालगायतको उपस्तिथि रहेको थियो ।
नेपाल रग्बी संघको अध्यक्ष दिपक देवकोटाको सभापतित्वमा उद्घाटन भएको राष्ट्रिय फिफ्टिन्स रग्बी लिगमा चार क्ल्बहरु आर्मी क्लब, आकश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब सहभागी छन् ।
पहिलो चरणको खेलमा गोर्खाली रग्बी क्लब र हिमालयन टाईगर रग्बी क्लबबीच खेल भएको थियो । श्रीराम श्रेष्ठ कप्तान रहेको गोर्खाली रग्बी क्लबले हिमालयनलाई ६७–१७ स्कोरले पराजित गर्यो ।
दोश्रो खेलमा आकाश भैरव र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो । सन्जिव कुँवरको कप्तानी रहेको आर्मीले ७२–० स्कोरमा विजयी भयो ।
दोश्रो चरणको खेल फागुन ३ गते हुनेछ । त्यस दिन आर्मी र हिमालय तथा आकाश भैरव र गोर्खालीबीच खेल हुनेछ । अन्तिम दिन फागुन ६ गते हिमालयन र आकाश भैरव तथा आर्मी र गोर्खालीबीच खेल हुनेछ ।