काठमाडौं । एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित ४ खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् ।
एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलाडीको समूहले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
थाइल्यान्डको बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्मा बाहेक अन्य ३ खेलाडीले कांस्य पदक जितेका थिए । हेमा राई, तृषा जवेगु र विजय बाटाले कांस्य जितेका थिए । सुष्मालाई ३५ हजार तथा बाँकीलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरियो ।
उक्त प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा सुष्माका सुरुआती प्रशिक्षक नवीन तण्डुकारलाई पनि जनही १० हजार नगदसहित सम्मान गरियो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, सम्मान गर्ने संस्थाको तर्फबाट मानबहादुर श्रेष्ठले एक कार्यक्रमबीच सम्मान गरे ।