काठमाडौं । नेपाल मोडल र स्कोलर्स होम्सले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०–२३ ले पराजित गर्यो । नेपाल मोडलको जितमा सौरव चौधरीले १४ अंक योगदान गरे । महेन्द्र पोखरेलको ६ अंक सहयोगमा स्कोलर्स होम्सले टीआईएलाई २५–२४ को झीनो अन्तरले हरायो ।
सिनियर ब्वाइजमै गोल्डेन पिकले जुगललाई ४३–३२ तथा एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५–३२ ले पन्छाए । गोल्डेनपिकका विजय तामाङले १४ तथा एचएचसीएका हेमन्त मगरले १२ स्कोर गरे ।
हात्तीगौडास्थित आयोजक भद्रकालीको कोर्टमा भइरहेको प्रतियोगिताको गल्र्समा एचएचसीएले भद्रकालीलाई २६–१७ ले निराश पार्यो ।
जुनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २९–२२ तथा हिमालयन किङडमले इबीएलाई १८–१६ ले पाखा लगाए । स्किब्सका सोहन ठकुरीले १५ तथा हिमालयनका आदित्य श्रेष्ठले ६ अंक जोडे ।
प्रतियोगिताको भद्रकालीकी संस्थापक अध्यक्ष सुनिता अधिकारी र संस्थापक कृष्णप्रसाद अधिकारीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रभु बैंकको मुख्य प्रायोजनमा फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १७, गल्र्समा ९ र जुनियर ब्वाइजमा १३ टिम सहभागी छन् ।