नेपालगन्ज । नेपालगन्ज म्याराथनले नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने टिमसँग सहकार्य गरेको छ ।
दौड संस्कृतिलाई बढावा दिने उद्देश्यले नेपालगन्ज म्याराथनले वर्षभरि विभिन्न गतिविधि गर्ने कार्यअन्तर्गत क्रिकेट टिमसँग सहकार्य गरेको हो ।
नेपालगन्ज म्याराथनले मंगोलियन स्पोर्ट्स क्लबलाई जर्सी सेट प्रदान गरेर खेल संस्कृति बढाउने अभियानमा सहकार्य गरेको हो ।
बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपालगन्ज म्याराथनका सिओओ सौगातविक्रम शाह, हेल्दी क्याफे हस्पिटलका एमडी कमिल हलवाई र टिम कप्तान एस हमालले जर्सी सार्वजनिक गरे । अब टिमले धारा मंगोलियन स्पोर्ट्स क्लबका नामबाट मेयर कप खेल्नेछ ।
‘दौड हरेक खेलका लागि अनिवार्य शर्त हुनेगर्छ । दौडमा राम्रो हुनेले सबै खेलमा राम्रो गर्नसक्छ ।’ सिओओ सौगातविक्रम शाहले भने –‘तसर्थ हरेक खेललाई दौडसँग जोड्दैछौं ।’
आठौं धारा नेपालगन्ज म्याराथन गत मंसिर २४ गते सम्पन्न भएको थियो । नेपालगन्ज म्याराथन नेपालबाट विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को पहिलो सदस्य हो ।
नेपालमा पहिलोपटक धावकहरुलले इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रयोग गरेर दौडिएका थिए ।
राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो साता नेपालगन्ज म्याराथन हुने गर्दछ ।