काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ’ए’ डिभिजन लिगको टिकेटिङ अधिकार, शीर्षक प्रायोजक बाहेकका कमर्सियल र मार्केटिङ अधिकार खरिदका लागि आह्वान गरेको टेन्डरमा कुनै प्रस्ताव परेन ।
लिगको टिकेटिङ अधिकार, शीर्षक प्रायोजक बाहेकका कमर्सियल र मार्केटिङ अधिकार खरिदका लागि आह्वान गरेको टेन्डरमा कुनैपनि कम्पनीले दाबी पेश गरेनन् ।
लिगको टिकट र मार्केटिङ अधिकारमा कुनैपनि प्रस्ताव नआएपछि एन्फाले पुन सात दिने सुचना जारी गर्ने तयारी गरेको छ ।
यस्तै, एन्फाले आह्वान गरेको ’ए’ ’बी’ र ’सी’ लिगको ब्रोडकाष्टिङ अधिकारका लागि समेत कुनैपनि कम्पनीले इच्छा देखाएनन् ।
एन्फाले फेब्रअरी ६ सोमबारसम्मको मिति राखेर टेन्डर आह्वान गरेको थियो । तर, कुनैपनि कम्पनीले दाबी पेश नगरेपछि एन्फाले टिकेटिङ, मार्केटिङ र ब्रोडकाष्टिङकै टेन्डर अवधि ७ दिन थप्ने भएको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहले निर्धारित मितिसम्म कुनैपनि कम्पनीबाट प्रस्ताव नआएको बताउँदै टेन्डरको मिति ७ दिन थप गरेर सूचना जारी हुने बताए ।
एन्फाको कार्यसमिति बैठकले टिकेटिङ अधिकारका लागि न्युनतम १ करोड ५० लाख, शीर्षक प्रायोजक बाहेकका कमर्सियल र मार्केटिङ अधिकारका लागि न्युनतम १ करोड ५० लाख र ब्रोडकाष्टिङ अधिकारका लागि न्युनतम ६० लाख तोकेर टेन्डर आह्वान गरेको थियो ।
नयाँ सिजनको ’ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
तर, एन्फाले लिगको मुख्य प्रायोजक समेत पाउन सकेको छैन ।
लिगको टिकेटिङ, कमर्सियल, मार्केटिङ र ब्रोडकाष्टिङ अधिकारका लागि कुनैपनि कम्पनीले इच्छा नदेखाउदा एन्फामाथि दबाब थपिएको छ ।