काठमाडौं। दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार तथा सातौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शनिबारबाट सुरु भएको छ ।
सेमिनारको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।
सो अवसरमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलको पनि उपस्थिती थियो ।
नेपाल हाप्किडो एसोसिएसनका अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेमिनारमा ली, हग्रिन्ज र मगरले प्रशिक्षण दिने छन् । सेमिनारमा नेपाल भारत, पाकिस्तान, बंगलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व छ ।
प्रतियोगितामा फाइट र सेल्फ डिफेन्स डेमोन्सट्रेसन समावेश छन् । दुई दिने प्रतिषेगितामा सात वटै प्रदेशका कुल ७ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिए ।