काठमाडौं । ट्रयाक एण्ड फिल्ड इभेन्टलाई समावेश गरेर आयोजना गरिएको गोल्डेन एथलेटिक्स मिटको सम्पुर्ण तयारी पुरा भएको छ ।
आयोजक एथलेटिक्स परिवार नेपालले शनिबार बिज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
प्रतियोगिता भोलि आईतबार र सोमबार सञ्चालन हुनेछ ।
नेपाल एथलेटिक्स संघको सहकार्यमा हुने प्रतियोगितामा महिला र पुरुषका विभिन्न २७ वटा ट्रयाक र फिल्ड इभेन्ट समावेश छन् । प्रतियोगितामा ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको आयोजक एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
प्रतियोगितामा विभिन्न ७ प्रदेश र विभागीय टिमका खेलाडी सहभागी छन् ।
प्रतियोगितालाई नेपाल एथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् राखेप, प्रदेश खेलकुद विकास परिषद् बागमती र विभिन्न ब्यवसायीक संस्थाले सहयोग गरेका छन् ।
प्रतियोगिताको उद्घाटन भोलि बिहान दशरथ रंगशालामा हुने परिवारका अध्यक्ष राजन खत्रीले बताए ।
नेपालको एथलेटिक्समा ट्रयाक र फिल्ड इभेन्ट निकै कम रहेको अवस्थामा परिवारले अग्रसरता लिएर प्रतियोगिताको आयोजना गर्न सुरु गरेको हो । यसबाट एथलेटिक्सका विभिन्न स्पर्धामा वर्षभरी अभ्यासमा जुट्ने खेलाडीले अवसर प्राप्त गर्ने परिवारका अध्यक्ष खत्रीले बताए ।