काठमाडौं । नेपाल कराँते महासंघको आसन्न केन्द्रिय निर्वाचनमा ७६ जनाले मताधिकार पाउने भएका छन् । महासंघको संशोधित विधान अनुसार केन्द्रिय निर्वाचनमा देशभरबाट ७६ जना प्रतिनिधि छनोट हुने गरि विधान स्विकृत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको पुनर्गठन गरेको थियो । पुनर्गठन गरिएको तदर्थ कमिटीलाई तीन महिनाभित्र निर्वाचन गर्न निर्देशन दिईएको छ ।
तदर्थ कमिटीका महासचिव हरिशरण केसीले केन्द्रिय निर्वाचनका लागि महासंघको संशोधित विधान राखेपबाट स्विकृत भएको खेलपाटीलाई बताए । उनका अनुसार महासंघको आसन्न केन्द्रिय निर्वाचनमा मताधिकार संख्याको समेत टुङ्गो लागेको छ ।
केसीका अनुसार संशोधित विधानमा सितोरियो, वादरियो, गोजिरियो र सेतोकान कराँते दो संघले कराँतेको राष्ट्रिय संघको रुपमा मान्यता पाउनेछन् । चार कराँते संघ मिलेर महासंघको गठन हुने उल्लेख छ ।
संशोधित विधान अनुसार महासंघको नयाँ कार्यसमिति २५ सदस्यीय बन्नेछ । महासंघको ७ प्रदेशमा प्रदेश कमिटी गठन हुनेछ । प्रत्येक प्रदेशबाट ५-५ जना प्रतिनिधि केन्द्रय निर्वाचनमा छनोट हुनेछन् ।
यसैगरी चार कराँते संघबाट ५-५ जना प्रतिनिधि केन्द्रिय निर्वाचनका लागि छनोट हुनेछन् । आसन्न केन्द्रिय निर्वाचनमा वर्तमान २१ जनाको तदर्थ कमिटीका सदस्य स्वत मताधिकार सहितका प्रतिनिधि छनोट हुनेछन् ।
तदर्थ कमिटीका अध्यक्ष युवराज लामाले आसन्न निर्वाचनपछि केन्द्रिय कमिटी २५ सदस्यीय हुने भएकाले त्यसपछिको निर्वाचनमा चार जना प्रतिनिधि स्वत बढ्ने बताए ।
‘वर्तमान कमिटी २१ सदस्यीय छ । विधानले २५ सदस्यीय कमिटीको व्यवस्था गरेको छ । आसन्न निर्वाचनपछि महाधिवेशनको मताधिकार संख्या पनि बढ्नेछ ।’ उनले भने, ‘संघीयताको समेत अभ्यास होस् भनेर प्रदेश र जिल्लालाई बलियो बनाउने गरि महासंघको नयाँ कार्यसमिति गठनको व्यवस्था गरिएको छ ।’