काठमाडौं । काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल ईन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती सकिएको छ ।
नेपालले बिहिबार भएको क्वाटरफाइनलमा विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेपनि पराजित भएपछि नेपालको चुनौती सकिएको हो ।
हल्चोकस्थित एपीएफ ब्याडमिन्टन कोर्टमा पुरुष एकलमा नेपालका रत्नजित तामाङ भारतका कौशल धर्मामेरसंग २१–१४, २२–२४ र २१–११ ले पराजित भए ।
पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडी थाइल्याण्डको खेलाडीको जोडीसंग पराजित भए । महिला डबल्समा नेपालकी अमिता गिरी र रशिला महर्जनको जोडीले म्यानमारको जोडीलाई वाक ओभरमा खेल सुम्पिए । यस्तै जेसिका गुरुङ र सुन्याना मुखियाको जोडी माल्दिभ्सको जोडीसंग पराजित भए ।
मिक्स डबल्समा दिपेश धामी र शोभा गौचनको जोडी सिंगापुरको जोडीसंग, विकास श्रेष्ठ र सिता राईको जोडी भारतको जोडीसंग तथा विजित थापा मगर र पुजा श्रेष्ठको जोडी थाइल्याण्डको जोडीसंग पराजित भए ।
सिरिजमा पुरुष र महिला एकल तर्फको विजेताले ७ सय ५० डलर, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले १ सय ९० डलर, क्वाटरफाइनल पुग्नेले ३० डलर तथा अन्तिम १६ मा पुग्नेले १५.५ डलर पाउनेछन् ।
यस्तै पुरुष युगल तथा महिला युगलतर्फको विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन् ।
त्यस्तै मिश्रीत युगलतर्फ पनि विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन् ।