काठमाडौं । थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौलसमूहमा फाइनलमा पुग्दै इतिहास रचेकी नेपालकी सुष्मा तामाङले फाइनलमा बुद्धिमानीपूवर्क खेल्ने बताएकी छन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अघिल्ला खेलका अनुभव र फाइनलमा उच्च प्रदर्शनका लागि शुभकामना दिन गरिएको भिडियो कलमा सुष्माले भनिन्, ‘उज्वेकिस्तानकी खेलाडी पनि म जस्तै डिफेन्सिभ र एट्याकिङ दुवै खेल छिन् । मैले उनको खेल नियालेकी छु । म पनि अगाडि बढेर बूद्धिमानीपूर्वक खेल्ने स्ट्रेटेजी बनाएकी छु ।’
सदस्य–सचिव घिसिङले शुभकामना दिदै भने, ‘फाइनल पुगेकोमा सिंगो देश र म एक्दमै खुशी र उत्साहित छु । खेलकुदको माध्यमबाट सिंगो देशलाई खुशी बनाएकोमा आभारी छु । राष्ट्रलाई स्वर्ण दिलाउनेमा मैले विश्वास गरेको छु । सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि मैले यस बारे जानकारी गराएको छु । उहाँ पनि निकै उत्साहित हुनुहुन्छ । फाइनलका लागि धेरै धेरै शुभकामना । म लाइभ हेरिरहेको हुने छु ।’
सुष्माले बुधबार उज्वेकिस्तानकी खेलाडीसंग फाइनल खेल्ने छिन् ।