काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९ औं संस्करण फागुनमा हुने भएको छ ।
नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले सोमबार पत्रकार सम्मेलनको घोषणा गर्दै अवार्ड फागुन २३ गते हुने जनाएको छ ।
२०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने अवार्ड कार्यक्रम काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने एनएसजेएफले जनाएको छ ।
यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा ९ विधामा अवार्ड प्रदान गरिने छ ।
त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ।
वर्ष खेलाडी पुरुष, महिला,युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने जनाईएको छ ।
मनोनयन नहुने विधाहरु लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ। यसपटक वर्षका युवा खेलाडीलाई पनि मोटर साइकल प्रदान गरिने एनएसजेएफले जनाएको छ ।
अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
एनएसजेएफले गतवर्षको अवार्ड दशक वर्षका रुपमा मनाएको थियो। जसमा पुरुषतर्फ क्रिकेटका पारस खड्का, महिलातर्फ फुटबलकी सावित्रा भण्डारी र प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटाले अवार्ड जितेका थिए । पिपल्स च्वाइसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले जितेकी थिइन्।
त्यसैगरी स्पेशल अवार्डतर्फ डाक्टर अजय राणा र लामो दुरीकी धाविका पुष्पा भण्डारी, पारा एथलेट सम्मानमा सरिता थुलुङ, एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड कुवेतका सत्ताम अल सेल्ही र लाइफटाइम एचिभमेन्ट अवार्ड स्वर्गिय शरदचन्द्र शाहलाई प्रदान गरिएको थियो ।
मुख्य प्रायोजक पल्सर
यस वर्ष पनि स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको एनएसजेएफले जनाएको छ । एनएसजेएफले सोमबार नै मुख्य प्रायोजक हंशराज हुलासचन्दसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतामा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सो अवसरमा प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले नेपाललाई विश्वमाझ पहिचान दिलाउन खेलकुद उत्तम माध्यम भएकाले खेलकुद क्षेत्रमा नै योगदान पु¥याएका खेलकर्मीको सम्मानमा जोडिँदै आएको बताए ।
मञ्चका अध्यक्ष सुबेदीले अर्थतन्त्र नै शिथिल अवस्थामा रहेको समय हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको सहकार्य निरन्तरता हुनु समग्र खेलकर्मीकै लागि सुखद पक्ष रहेको बताए । मञ्चका पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले यो अवार्ड समग्र नेपाली खेलकर्मीलाई नै एकै ठाँउमा उभ्याउने माध्यम बनिरहेको बताए ।