काठमाडौं । नेपालका रत्नजित तामाङ काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल ईन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
हल्चोकस्थित एपीएफ ब्याडमिन्टन कोर्टमा पुरुष एकलमा भारतका नविनलाई २०–२२, २१–१७ र २१–१६ को सेटमा हराएर रत्नले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । नेपालका अन्य खेलाडीको प्रदर्शन भने खराब रह्यो । पुरुष एकलमा नेपालमा विजित थापा मगर र विकास श्रेष्ठ भने प्रि क्वाटरफाइनलमा पराजित भए ।
यस्तै महिलातर्फ पनि नेपालको प्रदर्शन खराब रह्यो । नेपालका नङसल देवी तामाङ, अनु माया राई, सिता राई र जेसिका गुरुङ प्रि क्वाटरफाइनलमा पराजित भए ।
महिला डबल्समा नेपालकी अमिता गिरी र रशिला महर्जनको जोडीले क्वाटरफाइनलमा स्थान बनाए । अमिता र रशिलाको जोडीले भुटानको थिन्ले डेमा छोदेन थिंहको जोडीलाई २१ – ८ र २१ – १६ को सेटमा पाखा लगाए । महिला डबल्सतर्फ पुजा श्रेष्ठ र नङसल देवी तामाङ तथा अनुमाया राई र सिता राईको जोडी पराजित भएका छन् ।
पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडीले क्वाटरफाइनलमा स्थान बनाए । दिपक बोहरा र बिष्णु कटवाल तथा प्रफुल महर्जन र रुकेश महर्जनको जोडी भने पराजित भए ।
मिक्स डबल्समा दिपेश धामी र शोभा गौचन तथा विकास श्रेष्ठ र सिता राईको जोडी क्वाटरफाइनलमा प्रवेश गरे । रत्नजित तामाङ र नङसल देवी तामाङको जोडी पराजित भए ।
मंगलबार सुरु सिरिजमा नेपाल सहित २० राष्ट्रका ६१ महिला र ११७ पुरुषसहित कुल १ सय ७८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सिरिजमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल तथा मिश्रीत युगल गरि ५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
सिरिजमा पुरुष र महिला एकल तर्फको विजेताले ७ सय ५० डलर, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले १ सय ९० डलर, क्वाटरफाइनल पुग्नेले ३० डलर तथा अन्तिम १६ मा पुग्नेले १५.५ डलर पाउनेछन् ।
यस्तै पुरुष युगल तथा महिला युगलतर्फको विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन् ।
त्यस्तै मिश्रीत युगलतर्फ पनि विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन् ।