काठमाडौं । नेपालमा दुई प्रकारका खेल संघ भए । एक राखेपको पैसामा आश्रित, अर्को विदेशी अनुदान नि ल्याउने र ब्यवसायीक प्रायोजन खोजेर चल्ने । ती दुवैले केही अनुदान जुटाएर प्रतियोगिता गर्नुनै आफ्नो अन्तिम काम, कर्तब्य र जिम्मेवारी ठाने । साना र राखेपको अनुदानमा आश्रित संघको त कुरै भएन । तर बजारले पत्याउने, अन्तराष्ट्रिय रुपमा राम्रो पैसा अनुदान आउने संघपनि वर्षमा केही प्रतियोगिता गर्नुनै आफ्नो अन्तिम कर्म ठानेर बसेका छन् । यसले नेपाली खेलकुदको विकासको चरण अबरुद्ध बनेको छ ।
केही ठुला ‘मास गेम’हरु छन्, जसमा सरकारको लगानी छ, बजारले प्रायोजनको रुपमा पत्याउँछ । फुटबल, क्रिकेट, भलिबल तीन ठुला खेल हुन् । तीनै वटा खेलका संघ हेर्ने हो भने केही राष्ट्रिय प्रतियोगिता गरेर झारा टार्ने र अन्तराष्ट्रिय प्रतियोगिता गरेर पैसा उठाउने बाहेक अरु उद्धेश्य देखिदैन । ग्रासरुटका कार्यक्रम, युवा परियोजना र खेलाडीको ब्यवसायीकरणमा तीन वटै संघ निकम्मा साबित भएका छन् ।
फुटबल विदेशबाट धेरै अनुदान पाउने संघमा पर्छ । तर यसको प्राप्त अनुदार र सम्भावनालाई कहिल्यै घरेलु खेलकुदमा उजागर गर्न सकेन । लटरपटर लिग गरेर फिफा, एएफसीको पैसा सक्काउनु यसको मुख्य उद्धेश्य देखियो । संघ र पदाधिकारीमा पैसा नहुने बित्तिकै केही मैत्रीपूर्ण खेलको आयोजना गरिहाल्ने । टिकट, स्पोन्सरसिप र टेलिभिजन राइट्स बेचेर पैसा जम्मा गर्ने पुरानै शैली फुटबलमा चल्दै आएको छ । ग्रासरुट, वर्षभरी खेलाडीलाई ब्यस्त राख्ने कार्यक्रम, लिगको प्राण मानिने होम एण्ड अवे फुटबल नेपालको फुटबलले कहिल्यै देख्न पाएन । फिफा, एएफसीको अनुदानमा इन्जोए गर्ने र देश विदेश डुल्नमै पदाधिकारीको रुचि देखियो । न त ग्रासरुटको कार्यक्रम छन्, न खेलाडीलाई वर्षभरी खेल्ने प्रतियोगिता । खेलाडी पलायन भएर राष्ट्रिय टिम रित्तिसक्यो, नेतृत्वलाई ‘बाल मतलब’को अवस्था छ ।
अर्को छ, क्रिकेट संघ । यसको जोड सधै अन्तराष्ट्रिय सिरिज गराउन र खेल्न जानमै केन्द्रित हुन्छ । त्यसमा संघलाई पैसा आउँछ । पदाधिकारीलाई ईन्जोए हुन्छ । तर यो संघसँग ग्रासरुट, युवा कार्यक्रम र वर्षभरी खेल्ने प्रतियोगिता छैनन् । जो राष्ट्रिय टिममा परे, तिनीहरु जेनतेन बाँचे, बाँकी भगवान भरोसाको अवस्था छ । खेलाडीको ब्यवसायीकरण, वर्षभरी कार्यक्रम दिने सवालमा क्रिकेट संघ पुरै चुकेको छ । भर्खरै क्यानका पदाधिकारीले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई फिक्सिङ र बेटिङ गर्न फ्रेन्चाईज क्रिकेट नेपाल टी ट्वान्टी लिगको अधिकार बेचेर नेपाली क्रिकेटलाई थप बदनाम गराएका छन् ।
यस्तै अर्को छ, राष्ट्रिय खेलले चिनिएको भलिबल संघ । यो संघ नै एकप्रकारले प्रतियोगिता आयोजना कमिटी हो । एनभीएको नाममा वर्षमा दुई कार्यक्रम गर्नुनै यसले आफ्नो एकमात्र जिम्मेवारी ठान्छ । स्रोतका लागि राखेप परिसर ढुक्नु, र केही प्रायोजक खोजेर वर्षका दुई कार्यक्रम गर्नु बाहेक यस संघले अरु केही सोचेन । यस संघका समेत ग्रासरुटका कार्यक्रम छैनन् । युवा टिम छैनन्, कार्यक्रम छैनन् । खेलाडीलाई वर्षभरी ब्यस्त राख्ने प्रतियोगिता छैनन् । प्राविधिक जनशक्तिको बेहाल छ । एउटै अनुहार घरी राष्ट्रिय टिम हेर्छ, त्यही अनुसार युवा टिमको प्रशिक्षकमा पनि देखिन्छ । ‘हामीले कार्यक्रम गर्दिएर, पत्रकारले समाचार लेख्न पाएका छन्’ भन्ने मनोवृत्तिबाट ग्रसित छन्, यसका पदाधिकारी ।
समग्रमा तीन ठुला संघको साझा समस्या हुन्, ग्रासरुटका कार्यक्रम नहुनु, युवा टिम नहुनु, तीनका कार्यक्रम नहुनु, खेलाडीलाई वर्षभरी ब्यस्त राख्ने प्रतियोगिता नहुनु, उपयुक्त प्राविधिक र जनशक्ति नहुनु, यस्तै यस्तै ।
ती संघको अभिभावक संस्था हो, राखेप । राखेप चलाउने व्यक्ति हुन्, सदस्य सचिव । यसो सदस्य सचिवले तीन ठुला संघका अध्यक्षलाई बोलाएर खेलाडीलाई वर्षभरी ब्यस्त राख्ने तिम्रो संघको कार्यक्रम के हो ? भनेर मात्र सोधिदिए के बिग्रिन्छ र ? यत्ति त सदस्य सचिवको पनि जिम्मेवारी भित्र पर्छ होला ।
संघको काम केही प्रतियोगिता आयोजना गर्नु मात्र हो र ?
खेल विकासको तिम्रो र संघको रोडम्याप के हो ? तिम्रो संघका खेलाडीले वर्षभरी कसरी खेल्न पाउँछ ? आर्थिक हिसाबले कसरी जिवनयापन गर्न सक्छ भनेर राखेपको नेतृत्वले चासो मात्र राखिदिए, हजारौं खेलाडीको जीवनमा परिवर्तन आउन सक्छ । सम्बन्धित खेल संघको विकासमा उल्लेख्य भुमिका देखिन सक्छ ।
खेलाडीलाई वर्षभरी ब्यस्त राख्ने कार्यक्रम दिने जिम्मेवारी सम्बन्धित संघको नेतृत्वको पनि हैन र ? जस्तो संघको नेतृत्व, उस्तै राखेपको सदस्य सचिव भन्नुपर्ने हो र ?