काठमाडौं । कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद सहित विभिन्न प्रतियोगितामा प्रदेशका लागि पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको छ । बजेट सुनिश्चित नहुँदा खेलाडीलाई सम्मान गर्ने निर्णयलाई बेवास्ता गर्दै आएको प्रदेश सरकारले मन्त्रीपरिषद् स्तरीय निर्णयबाट पदक विजेता प्रदेशका खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी नवौं राष्ट्रिय खेलकुद सहित विभिन्न प्रतियोगितामा प्रदेशबाट पदक जित्ने खेलाडीलाई पुरस्कारको आवश्यक व्यवस्थाका लागि विभागीय मन्त्रालय सहित मुख्यमन्त्री कार्यालयसँग सिफारिस गरेको थियो । तर पुरस्कारको रकम बजेटमा व्यवस्था नभएको भन्दै सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला र मुख्य मन्त्री कार्यालयले परिषद्को सिफारिस बेवास्ता गर्दै आएका थिए ।
सोही कारण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट पदक विजेता खेलाडीले पुरस्कार रकम नपाउने स्थिती सिर्जना बनेको थियो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले नवौंमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही दुई लाख, रजतलाई डेढ लाख र कास्यलाई एक लाख रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री जिवनबहादुर शाहीले प्रतियोगिता अघिनै पुरस्कार रकमको घोषणा गरेर प्रदेशले खेलाडीलाई प्रोत्साहन गर्ने कार्य गरेको सार्वजनीक रुपमा उल्लेख गर्दै आएका थिए ।
आफ्नो कार्यकालको अन्तिम मन्त्री स्तरीय बैठकमा मुख्यमन्त्री शाहीले नवौं राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्डमा प्रदेशबाट पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गराएका छन् । उनले नवौं र राष्ट्रपति रनिङ शिल्डमा प्रदेशबाट पदक जित्ने ४७ जना खेलाडीले प्राप्त गर्ने २५ लाख ५५ हजार पुरस्कार रकमको निर्णय गराएका हुन् ।
मुख्य मन्त्री शाहीले मन्त्रीपरिषद्को अन्तिम बैठकमा कर्णालीमा अन्तराष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउने समेत निर्णय गराएका छन् । मुख्यमन्त्री शाही भलिबलका पूर्व राष्ट्रिय खेलाडी पनि हुन् ।
प्रदेशको निर्णयसँगै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जेलले मन्त्री स्तरीय निर्णय खेलाडी र सिंगो प्रदेशको खेलकुदका लागि महत्वपुर्ण रहेको बताएका छन् । उनले कुनै सार्वजनीक कार्यक्रममा प्रदेशले निर्णय गरेको पुरस्कार खेलाडीलाई प्रदान गरिने बताए ।
‘अब नयाँ सरकार बनेपछि बजेट ब्यवस्थपान गरेर कुनै सार्वजनीक कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद, १२ औं राष्ट्रपति रनिङ शिल्ड र अन्य अन्तराष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान सहित पुरस्कार वितरण गरिनेछ ।’ सदस्य सचिव सञ्जेलले भने, ‘कार्यकालको अन्तिममा मुख्य मन्त्रीले गरेको निर्णयले प्रदेश खेलकुदको विकासमा निकै सकारात्मक प्रभाव पारेको छ ।’