काठमाडौं । नेपालका ६ खेलाडीले काठमाडौंमा सुरु योनेक्स सनराईज नेपाल ईन्टरनेशनल ब्याडमिन्टन सिरिजको दोस्रो चरणमा स्थान बनाएका छन् ।
हल्चोकस्थित एपीएफको ब्याडमिन्टन कोर्टमा मंगलबार नेपालका विकाश श्रेष्ठ, दिपेश धामी, विजित थापामगर, प्रफुल महर्जन, प्रिन्स दाहाल र नविन श्रेष्ठले जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
पुरुष एकलमा विकाशले माल्दिभ्सका सरिम मोहमेदलाई २१–१५ र २१–७ को सेटमा पराजित गर्दा दिपेशले पनि माल्दिभ्सका अहमेद निबाललाई २१–८ र २१–११ को सेटमा पराजित गरे ।
यस्तै विजितले भुटानका सुभेरसन लामालाई २१–१९ र २१–७, प्रफुलले मरिससका क्रिस्टोफर पउललाई २१–१९ र २१–१४, प्रिन्सले बंगलादेशका मंगल सिंहलाई २१–१५, १५–२१ र २१–९ र नविनले बंगलादेशकै मोहम्मद सलमान खानलाई २१–१५ र २१–१९ को सेटमा हराए ।
नेपालका गौतम कठायत, दिपक बोहोरा, इरफान अन्सारी, रुकेश महर्जन, सुनिल जोशी र साजन ताम्राकार भने पराजित भएका छन् । यस्तै महिला एकलतर्फको छनोटमा नेपालकी सम्झना शर्मा र सिमा राजवंशी तथा पुरुषमा सुदिप सेढाईले पराजय व्यहोरेका छन् ।
मंगलबार सुरु सिरिजमा नेपाल सहित २० राष्ट्रका ६१ महिला र ११७ पुरुषसहित कुल १ सय ७८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सिरिजमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल तथा मिश्रीत युगल गरि ५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
सिरिजमा पुरुष र महिला एकल तर्फको विजेताले ७ सय ५० डलर, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले १ सय ९० डलर, क्वाटरफाइनल पुग्नेले ३० डलर तथा अन्तिम १६ मा पुग्नेले १५.५ डलर पाउनेछन् ।
यस्तै पुरुष युगल तथा महिला युगलतर्फको विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन् ।
त्यस्तै मिश्रीत युगलतर्फ पनि विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन् ।