काठमाडौं । आसन्न शहीद स्मारक ए डिभिजन लिगको आयोजनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजनका क्लब निर्णायक छलफलमा जुट्दैछन् । लिगको तयारी खर्च एन्फाले समयमै उपलब्ध गराउन नसकेपछि अनिश्चित बनेको घरेलु लिगका लागि एन्फा र क्लब निर्णायक छलफलमा जुट्न लागेका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो एक बजेपछि बस्ने बैठकमा एन्फा पदाधिकारी र क्लबका प्रतिनिधि सहभागी बन्दैछन् ।
एन्फाले लिग खेल्ने टिम दर्ताका लागि पुस ७ गतेसम्मको समय निर्धारण गरेको थियो । तर तत्काल तयारी खर्च नपाउने भएपछि क्लबले एन्फामा टिम दर्ता गरेनन् । पुस ७ गते एन्फामा बसेको बैठक बिना निष्कर्श टुङ्गिएको थियो । त्यसपछि लिगको सम्पुर्ण तयारीको खाका सहित बैठक बस्ने गरि एन्फा र क्लबका पदाधिकारी अलग भएका थिए ।
बिहीबारको बैठकपनि लिगको तयारी खर्च र लिग सञ्चालनको सम्पुर्ण खाकामा केन्द्रित हुनेछ । पुस ७ गतेसम्म लिगको तयारी खर्च दिन नसकेको एन्फाले यसबीचमा लिगको तयारीका लागि फिफाबाट १ लाख ६० हजार डलर जुटाएको एन्फा स्रोतले बताएको छ । सोही रकम लिगको तयारी स्वरुप बिहीबार बाँड्ने र क्लबलाई लिग खेल्न मनाउने एन्फाको तयारी छ ।
लिगको समग्र स्रोत व्यवस्थापनदेखि प्रतियोगिता सञ्चालनको सम्पुर्ण खाका माग गरिरहेका क्लबले लिग नहुने अवस्थामा क्षतीपूर्ती पाउनुपर्ने सम्झौता एन्फासँग गर्न चाहेका छन् । लिग तयारीको पहिलो किस्ता वापतको १५ लाखदेखि अघिल्लो वर्षको तयारी खर्चको साढे ७ लाख क्लबले लिन बाँकी छ । पुस २८ गतेदेखि लिग गर्ने घोषणा गरेको एन्फाले मुख्य प्रायोजक, ब्रोडकास्टर, भेन्यु, डबल राउण्ड रोबिनको मोडालिटी, टाइसिट लगायतको तयारी अहिलेसम्म नसकेपछि क्लबहरुले एन्फाको लिग आयोजनामै आशंका गरिरहेका छन् ।
लिग अन्यौलमा रहदाँ घरेलु फुटबलमा आश्रित खेलाडी मारमा परेका छन् । घरेलु फुटबल सञ्चालनमा खेलाडीले एन्फा र क्लबमाथि दबाब दिदै आएका छन् । बिहीबारको बैठकले लिग सञ्चालनमा सहमती जुट्ने खेलाडी र फुटबलका प्राविधिकहरुले अपेक्षा गरेका छन् ।