काठमाडौं । योनेक्स सनराईज नेपाल ईन्टरनेशनल ब्याडमिन्टन सिरिज भोलि (मंगलबार) बाट सुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने सिरिज हल्चोकस्थित एपीएफको ब्याडमिन्टन हलमा मंसिर २२ गतेसम्म संचालन हुनेछ ।
संघले सोमबार पत्रकार सम्मेलन गर्दै विश्व ब्याडमिन्टन महासंघको स्विकृत तथा ब्याडमिन्टन एशियाको कार्यक्रम अनुसार हुने सिरिजको तयारी पुरा भएको जनाएको छ ।
सिरिजमा नेपाल सहित २० राष्ट्रका ६१ महिला र ११७ पुरुषसहित कुल १ सय ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । सिरिजमा नेपालसहित,अमेरिका, जर्मनी, फ्रान्स,अष्ट्रेलिया, थाइल्याण्ड,मलेसिया, भारत,मरिसस,भुटान,श्रीलंका,बंगलादेश,इरान,मगोलिया,पाकिस्तान,माल्दिभ्स,भियतनाम,बहराइन,म्यानमार र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
सिरिजमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल तथा मिश्रीत युगल गरि ५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालबाट पुरुष एकलमा १६ तथा महिला एकलमा १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
सिरिजमा पुरुष र महिला एकल तर्फको विजेताले ७ सय ५० डलर, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले १ सय ९० डलर, क्वाटरफाइनल पुग्नेले ३० डलर तथा अन्तिम १६ मा पुग्नेले १५.५ डलर पाउनेछन् ।
यस्तै पुरुष युगल तथा महिला युगलतर्फको विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन् ।
त्यस्तै मिश्रीत युगलतर्फ पनि विजेताले ७ सय ९०, दोस्रोले ३ सय ८० डलर, सेमिफाइनल पुग्नेले २ सय ८० डलर , क्वाटरफाइनलमा पुग्नेले ३६.२५ डलर तथा अन्तिम १६ मा पुग्नेले १८.७५ डलर पाउनेछन् ।