काठमाडौं । तनहुँको माया युनिभर्स एकेडेमीले २५ औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा आयोजक सेन्ट जेभियर स्कुललाई ४-० ले हराउँदै माया युनिभर्स च्याम्पियन बनेको हो ।
माया युनिभर्सको जितमा मन्जिल श्रेष्ठ र इबास विकले समान दुई गोल गरे ।
यस्तै नेपाल डन बस्को स्कुललाई टाईब्रेकरमा ४–३ ले हराउँदै मोर्डन इन्डियन स्कुल चोभारले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा सेन्ट जेभियर्सका सन्देश टुडु सर्वोत्कृष्ट खेलाडी बनेका छन् । माया युनिभर्सका आदित्य विक उत्कृष्ट गोलकिपर चुनिए । मोर्डनका प्रतिक बानियाँ उत्कृष्ट डिफेन्सिभ खेलाडी घोषित भए ।
मोर्डनकै जोन राउत उदियामान खेलाडी घोषित भए । माया युनिभर्सका इबास विक १३ गोल गर्दै सर्वाधिक गोलकर्ता चुनिए । माया युनिभर्सकै जोरिस भान डार्प उत्कृष्ट प्रशिक्षक चुनिए ।
विजयी टोली तथा उत्कृष्ट खेलाडीहरुलाई गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, सेन्ट जेभियर स्कुल सुपेरिअर फादर जर्ज पीएम, सेन्ट जेभियरका प्रिन्सिपल फादर विजय प्रताप टोप्पोले ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरे ।
सेन्ट जेभियर स्कुल गोदावरीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।